काठमाडौँ :जारी फिफा विश्वकप २०२६ मा इङ्गल्याण्डले सनसनीपूर्ण जित हात पार्दै सेमिफाइनलको यात्रा तय गरेको छ। आइतवार बिहान सम्पन्न निकै रोमाञ्चक र नाटकीय क्वार्टरफाइनल खेलमा इङ्गल्याण्डले नर्वेलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको हो।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको सुरुवाती चरणमै जुड बेलिङ्घमले बक्स भित्रबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएपछि इङ्गल्याण्डले खेलमा निर्णायक अग्रता लियो।
खेलको अन्तिम क्षणमा नर्वेले बराबरी गोलका लागि लगातार खतरनाक आक्रमण बुने पनि मुख्य प्रशिक्षक थोमस टुचेलको रणनीति र इङ्गल्याण्डको बलियो रक्षापंक्तिले त्यसलाई असफल पारिदियो। यो ऐतिहासिक जितसँगै इङ्गल्याण्डको विश्वकप उपाधि जित्ने सपना अझै जीवितै रहेको छ।






