काठमाडौँ: त्रिपुरेश्वरमा आत्मदाह गरेका राइडसेयरिङ चालक गणेश नेपालीको मृत्यु भएको ४ दिन बितिसक्दा पनि शव उठ्न सकेको छैन।
सरकार र काठमाडौँ महानगरपालिकाले पीडितको माग सम्बोधन गर्न आनाकानी गर्दा नेपालीको शव अझै महाराजगञ्जस्थित शिक्षण अस्पतालको शवगृहमा बेवारिसे जस्तै बनेको छ। शव नबुझेका कारण पोष्टमार्टम र मुचुल्काको प्रक्रिया समेत ठप्प छ।
जिल्ला प्रशासन कार्यालय र महानगरपालिकाले रोजगारी, नि:शुल्क शिक्षा र अमूर्त राहतको ६ बुँदे प्रस्ताव अघि सारे पनि पीडित परिवारले त्यसलाई अस्वीकार गरिदिएका छन्। पीडित पक्षले काठमाडौँ महानगरपालिकालाई मात्र अघि सारेर सरकार मुख्य जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाएका छन्।
वार्तामा रहेका मृतकका भतिज मन नेपालीले स्पष्ट पारेका छन् कि— आफ्ना काकालाई मर्न बाध्य पार्ने महानगरका २ जना नगर प्रहरीमाथि तत्काल ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता हुनुपर्छ। यस्तै, पीडित पक्षले गणेश नेपालीलाई सहिद घोषणा गर्नुपर्ने र राहतको रकम किटान हुनुपर्ने अडान राखेका छन्। तर, महानगरपालिकाले भने कार्यपालिका बैठकको बहाना बनाउँदै र नगर प्रहरीको बचाउ गर्दै पन्छिने प्रयास गरिरहेको छ।
मुगुको सोरु गाउँपालिकाका स्थायी बासिन्दा नेपालीमाथि काठमाडौँको सडकमा नगर प्रहरीले अन्यायपूर्वक ह्विल लक लगाएको र मोबाइल फुटाइदिएपछि उनले आत्मदाहको बाटो रोजेका थिए। राज्यको प्रणाली र महानगरको ज्यादतीका कारण ज्यान गुमाएका गणेशको न्यायका लागि माइतीघर मण्डला र वीर अस्पताल अगाडि प्रदर्शन र आक्रोश झन् चर्किएको छ।






