काठमाडौँ। अविरल वर्षासँगै देशका विभिन्न भागमा बाढी र पहिरोले बितण्डा मच्चाउन थालेको छ। रसुवा, मकवानपुर र सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोका कारण जलविद्युत् आयोजना बन्द हुनुका साथै यातायात र जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ।
१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना ठप्प, भन्सार यार्ड खाली गराइयो:
ल्हेन्दे खोलामा लेदोसहितको भयानक बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गरिएको छ। सम्भावित दुर्घटना र क्षति रोक्न आइतबार साँझदेखि नै सुरुङतर्फ पानी लैजाने गेट बन्द गरिएको आयोजना प्रमुख सन्तोष अधिकारीले जानकारी दिए।
गत वर्ष असार २४ गते यही खोलाको बाढीले बाँधमा ठूलो क्षति पुर्याएकाले यसपालि प्राविधिकहरूले उच्च सतर्कता अपनाएका हुन्। अवस्था सुरक्षित देखिएमा आजैदेखि उत्पादन पुनः सञ्चालनमा ल्याइने कार्यकारी निर्देशक सत्यराम ज्याख्वाले बताए।
यता भोटेकोशी नदीमा पनि बहाव बढेपछि रसुवागढी भन्सार यार्डको उत्तरी भागबाट बाढी पस्ने जोखिम बढेको छ। जोखिमलाई मध्यनजर गर्दै यार्डमा रहेका मालवाहक तथा नयाँ आयातित गाडीहरूलाई आपत्कालीन रूपमा सुरक्षित स्थानमा सारिएको छ। मैलुङ सडकखण्ड क्षतविक्षत भएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले केरुङ आवतजावत गर्ने गाडीहरूलाई बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेँसीको साविकको सडक प्रयोग गर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले विपद् परेमा आपत्कालीन निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गरेका छन्।
हेटौँडामा बाढीले बगायो १२ चक्के ट्रक, चालकले पौडिएर जोगाए ज्यान:
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले एउटा १२ चक्के ट्रक बगाएको छ। शिवम् सिमेन्ट उद्योगबाट चुनढुङ्गा अनलोड गरेर फर्किँदै गरेको ना ७ ख ७६५ नम्बरको ट्रक खोला तर्न बनाइएको ह्युमपाइप कल्भर्ट (लच्का) मा पानीको बहाव एक्कासि बढेपछि बगेको हो।
प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार चितवनका ३४ वर्षीय ट्रक चालक दीपक थिङले पौडिएर ज्यान जोगाएका छन्। खुट्टामा सामान्य चोट लागेका उनको चौघडामा उपचार भइरहेको छ भने ट्रकलाई खोलाबाट निकाल्ने प्रयास जारी छ।
सडक भासिएपछि तातोपानी नाका फेरि ठप्प, सयौँ कन्टेनर अलपत्र:
अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-२ कोदारीको इको भन्ने स्थानमा सडक भासिएपछि नेपाल-चीन जोड्ने तातोपानी नाका पुनः ठप्प भएको छ। अविरल वर्षाका कारण करिब दुई मिटर सडक सडकै भासिएको र माथिबाट निरन्तर लेदो बगिरहेकाले चरिकोट सडक डिभिजनलाई मर्मत गर्न समेत समस्या भइरहेको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले बताए। नाका बन्द भएसँगै चीनबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका र नेपालबाट चीनतर्फ जाने सयौँ मालवाहक कन्टेनरहरू बीच बाटोमै अलपत्र परेका छन्।
गृह मन्त्रालय र स्थानीय प्रशासनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन र सम्भावित पहिरो क्षेत्रमा नबस्न सर्वसाधारणमा कडा चेतावनी जारी गरेको छ।






