काठमाडौँ :राजधानीका प्रमुख सञ्चारगृह र राजनीतिक नेतृत्वलाई निसाना बनाउँदै सोमबार एकाबिहानै शंकास्पद ढंगले गाडी आतंक सिर्जना गरिएको छ।
काठमाडौँका स्थापित मिडिया हाउसहरू र नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि मुल बाटो नै पूर्ण रूपमा अवरुद्ध हुने गरी शंकास्पद गाडीहरू पार्किङ गरिएका भेटिएपछि सुरक्षा वृत्तमा खलबली मच्चिएको हो। बिहान साढे ७ बजेतिर कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनको मूल गेट आधाभन्दा बढी ढाकेर निजी नम्बर प्लेटका गाडीहरू बेवारिसे अवस्थामा छाडिएका थिए। तीनकुनेस्थित कान्तिपुर कार्यालय, नयाँबानेश्वरको अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेटमा बाटो थुनिँदा रिपोर्टिङमा निस्कने सञ्चारकर्मी र टेलिभिजनका ठूला सवारीसाधनहरू भित्रै थुनिएका थिए।
काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीको ज्यादतीका कारण गणेश नेपालीले गरेको आत्मदाहको विषयमा ती मिडियाहरूले निरन्तर प्रश्न उठाउँदै समाचार प्रकाशन गरेकै पृष्ठभूमिमा यो हर्कत भएको सञ्चारगृहहरूको बुझाइ छ। नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मासहितको टोलीले आजै प्रभावित मिडिया हाउसहरूको स्थलगत अवलोकन गर्दै घटनालाई प्रेस स्वतन्त्रतामाथिको नाङ्गो हस्तक्षेप भनेको छ।
सञ्चारगृहमा मात्र नभई नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि उस्तै प्रकृतिको अवरोध सिर्जना गरिएको छ। सभापति थापाको निवासको ढोकै छेकेर बिहान ७ बजेदेखि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको थियो। स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार उक्त गाडी त्यहाँ छाड्ने चालक नेपाल प्रहरीकै गाडी चढेर गएका थिए। प्रत्यक्षदर्शीको यो दाबीले घटनामा राज्य संयन्त्रकै मिलेमतो रहेको आशंकालाई बल पुर्याएको छ।
यता, घटनाको सूचना पाएर पनि ट्राफिक प्रहरीले क्रेन ल्याएर गाडी हटाउन झन्डै चार घण्टा ढिलाइ गरेको थियो। ११ बजेपछि मात्रै प्रहरीले ती गाडीहरू क्रेन लगाएर हटाएको थियो। यातायात व्यवस्था विभागको तथ्यांक अनुसार कान्तिपुर अगाडि राखिएको बागमती प्रदेश ०१, ०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकको नाममा, अनलाइनखबर अगाडिको बा १२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा, र हिमालय टेलिभिजन अगाडिको बा १२ च १२५५ नम्बरको गाडी सुवास भण्डारीको नाममा दर्ता रहेको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले घटनाबारे जानकारी पाउनसाथ प्रहरी टोली परिचालन गरी अनुसन्धान थालिएको र गाडी चालकहरूको खोजी भइरहेको बताउनुभएको छ। नागरिकको आवाज मुखरित गर्ने सञ्चारमाध्यम र जनप्रतिनिधिको ढोका थुनेर भयको वातावरण सिर्जना गर्ने यो कदमको चौतर्फी निन्दा भइरहेको छ।






