काठमाडौँ :सरकारले देशका सातै प्रदेशमा जलनका उपचार केन्द्र स्थापना गर्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकका सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले गम्भीर जलनका बिरामीलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन प्रदेशस्तरमा विशेष उपचार केन्द्रको आवश्यकता औँल्याउँदै यस्तो निर्देशन दिएका हुन्। उनले प्रमुख सरकारी अस्पतालमा रहेका बर्न वार्डलाई समेत थप व्यवस्थित र सुदृढ बनाउन आवश्यक योजना तयार गर्न आग्रह गरे।
प्रधानमन्त्री शाहले जलनका गम्भीर बिरामीको उपचार प्रभावकारी बनाउन संघ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच बलियो समन्वय आवश्यक रहेको बताए। गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले अस्पतालको सरसफाइ, सेवा प्रवाह सुधार, डिजिटल प्रविधिको प्रयोग तथा सुशासन कार्यान्वयनमा विशेष ध्यान दिन निर्देशन दिए।
उनले आर्थिक रूपमा कमजोर, विपन्न तथा असहाय नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले उपलब्ध गराउनुपर्ने बहिरङ्ग (ओपिडी) सेवाको कम्तीमा १० प्रतिशत सहुलियतपूर्ण सेवाको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरे।






