काठमाडौँ :नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झा कारागारबाट रिहा भएका छन्।
जिल्ला अदालत काठमाडौँले मंगलबार मात्रै उनलाई ठगी मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो। तर, झाले अदालतले तोकेको सजायभन्दा दोब्बर बढी समय, अर्थात् विगत दुई वर्षदेखि पुर्पक्षका लागि सुन्धारा कारागारमा कैद भुक्तान गरिसकेका कारण बुधबार सबै कानुनी प्रक्रिया पूरा गरी उनी रिहा भएका हुन्।
२०८१ असार १४ गते पक्राउ परेका झालाई रिहा गर्न अदालतले हिजै कारागारलाई पत्र पठाइसकेको थियो। ठगी मुद्दामा रिहा भए पनि झाले आजै सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत प्रक्रिया पूरा गरेर तारेखमा रहने गरी उन्मुक्ति पाउने कारागार प्रशासनले जनाएको छ।
यसअघि सोही प्रकरणमा सफाइ पाएका प्रतीक थापालाई पनि यसै गरी रिहा गरिएको थियो।






