काठमाडौँ :प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक कुनै पनि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको बृहत् छलफलमा उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो। छलफलका क्रममा प्रधानमन्त्री शाहले महिला उद्यमीहरूका सबै व्यवधान हटाउन सरकार जुटिरहेको बताउँदै उत्पादित वस्तुहरूलाई देशभिका पर्यटकीय स्थलहरूमा प्रवर्द्धन गर्ने वातावरण मिलाउने आश्वासन दिनुभयो।

महासंघले बजारमा ल्याउन लागेको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई स्थापित गराउन गरिएको आग्रहलाई सहर्ष स्वीकार गर्दै प्रधानमन्त्रीले यो ब्रान्ड तत्काल बजारमा ल्याउन उत्प्रेरित गर्नुभयो।

छलफलमा महासंघका प्रतिनिधिहरूले निर्धक्कसँग काम गर्न सक्ने व्यवसायमैत्री वातावरण, व्यापार मेला, र निर्यात प्रवर्द्धनमा अनिवार्य सहभागिताको माग गरेका थिए। उनीहरूले सार्वजनिक खरिद प्रक्रियामा महिला उद्यमीहरूलाई प्राथमिकता दिन र सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा महिला उद्यमीका उत्पादन अनिवार्य खरिद गर्ने व्यवस्था लागू गर्न समेत अनुरोध गरे।

यसैगरी, वास्तविक महिला उद्यमीले वित्तीय सहुलियत नपाएको गुणासो गर्दै उनीहरूले यो सुविधा गाउँ-गाउँसम्म पुर्‍याउन र पुँजीको अभावमा सपना नमरोस् भनी विना धितो कर्जा वा धितोको वैकल्पिक व्यवस्था मिलाउन माग गरेका छन्।

महासंघलाई सरकारका नीति-निर्माण तहमा सहभागी गराउन माग गर्दै उनीहरूले स्थानीय तहमा सीपमूलक तालिमका लागि महासंघकै तर्फबाट उच्च दक्ष स्रोत व्यक्तिहरू उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। आफ्ना समस्याहरू गम्भीरतापूर्वक सुनेर तत्काल पहल सुरु गरिदिएकोमा महासंघले प्रधानमन्त्री शाहप्रति आभार व्यक्त गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय