काठमाडौँः देशभर एलपी ग्यासको अभाव बढेपछि सरकारले बजार अनुगमन र गुनासो सुनुवाइलाई तीव्र बनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव, कालोबजारी वा आपूर्तिमा समस्या देखिए जानकारी गराउन उपभोक्तालाई आग्रह गरेको छ । उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले ग्यास नपाए वा बढी मूल्य असुलेको पाइए मोबाइल नम्बर ९८५१११६७७३ मा सम्पर्क गर्न भनेको हो । मन्त्रालयले प्राप्त गुनासोलाई गम्भीरतापूर्वक लिई सम्बन्धित निकायसँग समन्वय गरेर समस्या समाधान गर्ने जनाएको छ ।
करिब २० दिनदेखि ग्यास आपूर्ति असहज हुँदा डिपोहरूमा लामो लाइन लाग्ने र उपभोक्ता रित्तो सिलिन्डर लिएर फर्किनुपर्ने अवस्था देखिएको छ ।






