काठमाडौँः दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित यलुङ–री हिमालको आधार शिविरमा फेला परेका पाँच शवमध्ये दुई नेपाली र तीन विदेशी आरोहीको रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार मृतक नेपालीमा गौरीशङ्कर–९ का पथप्रदर्शक पदम तामाङ र सोलुखुम्बुको माप्यदुधकुण्ड–५ का मेर कार्की रहेका छन् । विदेशी आरोहीमा क्यानडाका मार्को डी मार्सेलो, इटलीका मर्कस करचिलर र जर्मनीका क्याकोब इसरिवर रहेका छन् । पाँचमध्ये चार शव काठमाडौंको शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ भने तामाङको शव चरिकोटमै पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ।

पोस्टमार्टमपछि शव परिवारलाई बुझाइनेछ । गत बिहीबार स्थानीयले हिउँ पग्लिएको स्थानमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खराब मौसमका कारण तत्काल उद्धार हुन नसके पनि आइतबार मौसम खुलेपछि सात पटकको प्रयासमा पाँच शव संकलन गरी ना गाउँ ल्याइएको थियो । सोमबार हेलिकप्टरमार्फत शव काठमाडौं लगिएको हो । गत वर्ष यलुङ–री आरोहणमा गएका १५ जनामध्ये आठ जनाको सकुशल उद्धार भएको थियो भने सात जना हिमपहिरोमा परी बेपत्ता भएका थिए ।

तीमध्ये दुई जनाको शव यसअघि नै भेटिएको थियो । बाँकी पाँच जनाको शव अहिले फेला परेको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय