काठमाडौं । बेलायतमा स्किल्ड वर्कर भिसामार्फत पुगेका नेपाली कामदार रोजगारदाताबाट आर्थिक तथा मानसिक शोषणमा परेको गुनासो बढेको छ।

सन् २०२१ मा एमबीए गरेकी मेलिसा थापा (नाम परिवर्तन) ले २०२४ मा रेष्टुरेन्टबाट स्पोन्सरसीप पाएर स्किल्ड वर्कर भिसा लिइन्। भिसा आवेदनका क्रममा उनले सोलिसिटरलाई करिब ४ हजार ५०० पाउन्ड तिरेकी थिइन्। तर, सम्झौतामा उल्लेख भएभन्दा बढी समय काम गराइए पनि नियमित तलब, पे स्लिप र बिदा नपाएको उनको आरोप छ। २६ महिनासम्म पेड होलिडे नपाएपछि उनी अहिले बेलायती श्रम अदालत पुगेकी छन्।

यस्तै, अर्की नेपाली इशा (नाम परिवर्तन) ले दुईपटक भिसा बढाउँदा करिब २५ लाख रुपैयाँ खर्च गरेकी छन्। स्थायी बसोबासको प्रतिक्षामा रहेकै बेला उनले काम गर्ने रेष्टुरेन्टको स्पोन्सर लाइसेन्स निलम्बन भएपछि उनी अन्योलमा परेकी छन्। लाइसेन्स खारेज भए ६० दिनभित्र नयाँ स्पोन्सर खोज्नुपर्ने वा बेलायत छाड्नुपर्ने अवस्था हुन्छ।

अध्यागमन सल्लाहकार विष्णु खरेलका अनुसार सम्झौताअनुसार तलब नदिनु, न्यूनतम ज्याला नदिनु, होलिडे पे तथा साप्ताहिक बिदा नदिनु र भिसामा उल्लेख गरिएको कामभन्दा फरक काम गराउनुका कारण धेरै रोजगारदाताले स्पोन्सर लाइसेन्स गुमाएका छन्।

यसैबीच बेलायत सरकारले स्किल्ड वर्कर भिसाका नियम थप कडा बनाएको छ। तलब सीमा बढाइएको छ भने सयभन्दा बढी पेशा नयाँ आवेदनका लागि अयोग्य बनाइएको छ। पछिल्लो समय हस्पिटालिटी क्षेत्रबाट विदेशी कामदार ल्याउनसमेत कठिन भएको छ।

बेलायती गृह मन्त्रालयका अनुसार यस वर्षको मार्चसम्म १२ महिनामा ६८ हजार ६७ स्किल्ड वर्कर भिसा जारी भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत कम हो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय