काठमाडौँः नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा मिराकल पार्टी प्यालेसमा भेला सुरु भएको हो ।
भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका सभापति शेरबहादुर देउवा र डा. शशांक कोइराला समूहका नेता–कार्यकर्ता सहभागी छन् । हिजो मात्रै नेपाल फर्किएका निवर्तमान सभापति देउवाले भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । जेनजी आन्दोलनका क्रममा घाइते भएपछि उपचारका लागि सिंगापुर गएका देउवा पाँच महिनापछि नेपाल फर्किएका हुन् । उनको स्वागतमा नेता–कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
त्यहाँबाट बाजागाजासहित चुनदेवीस्थित समूहको सम्पर्क कार्यालय पुर्याइएको थियो। देउवाले त्यहाँ पनि सम्बोधन गरेका थिए। भेलाको बन्दसत्र साउन ३० र ३१ गते हुने जनाइएको छ ।






