राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दिएको जवाफप्रति प्रतिउत्तर दिएका छन् ।
सुनारले सामाजिक सञ्जालमार्फत राज्यमा १ हजार अर्ब रुपैयाँभन्दा बढी बेरुजु रहेको उल्लेख गर्दै भ्रष्टाचार, घोटाला र अनियमितताका विषयमा सार्वजनिक लेखा समितिमा गम्भीर छलफल भइरहेको बताएका छन् ।
उनले आफूहरू ‘मुख मिठ्याउँदा’ जनताको मुख तितो हुने र आफूहरूले तितो बोल्दा गरिब तथा विपन्न जनताको मुख मिठो हुने दिन आउने दाबी गरेका छन् ।
‘बिरालोको घाँटीमा घण्टी बाँध्ने जोखिम कसैले न कसैले लिनै पर्छ,’ सुनारले लेखेका छन्, ‘त्यसका लागि जस्तोसुकै मूल्य चुकाउन किन नपरोस् !’
हिजोको विषय बर्दी र फुली देखाएर धम्काउँदैमा टुंगिन नसक्ने उनको भनाइ छ । उनले आफू प्रहरी सिपाही तथा दुःखमा साथ दिने म्यादी प्रहरीको पक्षमा सदैव रहेको पनि बताएका छन् ।
तर गरिबका छोराछोरी सिपाही, हवल्दार तथा म्यादी प्रहरी बनेको उल्लेख गर्दै सुनारले उनीहरूले प्रयोग गर्ने जुत्ता, मोजा, पोसाक र रासनसँग जोडिएको अर्बौं रुपैयाँको विषय गम्भीर मुद्दा भएको बताएका छन् ।
‘मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन दिने हैन,’ उनले भनेका छन्, ‘जुत्ता लगाउने हो, खाने हैन !!’






