काठमाडौँ। आगामी असोज २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘कार्की साइँला’को टिजर सार्वजनिक गरिएको छ।
नागपञ्चमीको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा मुख्य पात्र कार्की साइँला (जितु नेपाल)को जीवन सङ्घर्ष, व्यथा, गाउँलेको हेपाइ र विवाहको कथा समेटिएको छ।टिजरमा जितुका अलावा प्रियाना आचार्य, सुशील पोखरेल र वीरेन्द्र सिंह कुशवाहालाई देखाइएको छ। राजेन्द्र बस्नेतको निर्देशन तथा डम्बर राईको कथा रहेको चलचित्रको पटकथा एवं संवाद शङ्कर धिताल र सबिन अधिकारीले तयार पारेका हुन्। बालकुमार राई र निर्भीक बञ्जाराको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता अनन्त राई हुन्।
चलचित्रमा जितु, प्रियाना, सुशील, वीरेन्द्र, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बू, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारी लगायतका कलाकारहरूको अभिनय छ।डम्बर राईको डिओपी र नारायण गुरुङको छायाङ्कन रहेको चलचित्रलाई सन्देश शाहले सम्पादन गरेका हुन्। चलचित्रको वितरणको जिम्मा कुबेर फिल्मस्ले लिएको छ।






